वालिङ, ७ असार ।
अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आईतबार स्याङ्जाको वालिङमा अन्तर विद्यालयस्तरीय योगासन प्रतियोगिता गरिएको छ । वालिङ नगरपालिकाको आयोजना, महिला पतञ्जलि योग समिति नेपाल, स्याङ्जा, पतञ्जलि योग समिति नेपाल स्याङ्जा र पतञ्जलि युवा नेपाल समितिको व्यवस्थापनमा वालिङस्थित पतञ्जलि योग पीठ भवनमा प्रतियोगिता गरिएको हो ।

प्रतियोगिताको उद्घाटन गर्नुहुँदै वालिङ नगर प्रमुख कृष्ण खाँणले आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण महाराजको जन्मभूमिकोरुपमा रहेको वालिङले योग तथा जडिबुटीका क्षेत्रमा काम गर्दै आएको बताउनुभयो । योग तथा आयुर्वेदको महत्वकाबारेमा यहाँका नागरिकलाई जानकारी दिंदै योगातर्फ आकर्षित गर्नकालागि नगरपालिकाले विभिन्न टोल तथा विद्यालयहरुमा योग साधना केन्द्रहरु सञ्चालनमा जोड दिंदै आएको बताउनुभयो ।

नगरपालिकाले वालिङलाई जडिबुटीको हबकारुपमा विकास गर्नेगरी जमिन भाडामा लिएर विभिन्न जडिबुटी लगाएको प्रमुख खाँणले बताउनुभयो । कार्यक्रममा पतञ्जलि योग समिति नेपालका केन्द्रीय सदस्य मैयाँदेवी पौडेल, भीरकोट नगरपालिकाका निवर्तमान नगर प्रमुख छायाराम खनाल, पतञ्जलि योग समिति नेपाल स्याङ्जाका अध्यक्ष नारायणप्रसाद तिवारी, महिला पतञ्जलि योग समिति नेपाल स्याङ्जाका अध्यक्ष कविता भुसाल, पतञ्जलि योग समिति नेपाल स्याङ्जाका महामन्त्री खगेन्द्रप्रसाद अर्याललगायतले अन्तर्राष्ट्रिय योग दिवस तथा योगको महत्वकाबारेमा आ–आफ्नो धारणा राखेका थिए ।

अन्तर विद्यालयस्तरीय योगासन प्रतियोगितामा स्याङ्जा जिल्लाका १६ सामुदायिक विद्यालय तथा १० संस्थागत गरी कुल २८ विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा सगरमाथा आवासीय मावि वालिङ ६ मिर्दीले प्रथम स्थान हासिल गरेको छ । प्रथम स्थान हासिल गरेको सगरमाथा माविले नगद १० हजार सहित प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै पाईनिअज हायर एजुकेशन एकेडेमी वालिङ द्वितीय र बालविद्या विकास बोर्डिङ स्कूल वालिङ तृतीय भएका छन् । द्वितीय र तृतीय भएका विद्यालयले क्रमशः ७ हजार र ५ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिता हुनुपूर्व बिहान ५ बजेदेखि अन्तर्राष्ट्रिय प्रोटोकलअनुसारको योग कक्षा पतञ्जलि योग समिति नेपालका केन्द्रीय सदस्य मैयाँदेवी पौडेलले सञ्चालन गर्नुभएको थियो ।
बिहान ७ बजेपछि योग साधक तथा विद्यार्थीहरुसहितको ¥यालीले वालिङ नगरपालिकाका मुख्य मुख्य बजारहरुमा प्रभातफेरि गरेको थियो ।






