वालिङ नगरपालिकाको नीति तथा कार्यक्रम, स्वास्थ्यलाई प्राथामिकता

0
3
Google search engine

वालिङ, ८ असार ।
स्याङ्जाको वालिङ नगरपालिकाले २०औँ नगरसभा मार्फत आगामी आर्थिक वर्षका लागि निति तथा कार्यक्रम प्रस्तत गरेको छ । नगर प्रमुख कृष्ण खाँणले नगरबासीको स्वास्थ्य क्षेत्रमा आमूल सुधार ल्याउने लक्ष्यका साथ “म स्वस्थ, मेरो नगर स्वस्थ” अभियानलाई विशेष प्राथमिकता दिँदै आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । उहाँले स्वास्थ्य क्षेत्रका सुधारमुखी योजनाहरू सार्वजनिक गर्नुभएको हो ।

Google search engine

नगरपालिकाले विगतदेखि सञ्चालन गर्दै आएको विद्यालय र समुदायमा सामुदायिक नर्स परिचालन गर्ने कार्यक्रमलाई थप प्रभावकारी बनाइने नीतिमा उल्लेख छ । सरकारी विद्यालयहरूमा सफल देखिएको यस कार्यक्रमलाई आगामी वर्षदेखि निजी (संस्थागत) विद्यालयहरूमा समेत विस्तार र प्रोत्साहित गरिने नगर प्रमुख खाँणले घोषणा गर्नुभयो । किशोर–किशोरीको स्वास्थ्य, महिनावारी स्वच्छता र सामुदायिक स्वास्थ्य सचेतनाका लागि यो कदम चालिएको नगरपालिकाले जनाएको छ ।

यसैगरी, पछिल्लो समय चुनौतीका रूपमा देखा पर्दै गएका नसर्ने रोगहरू (जस्तैः मुटु रोग, मधुमेह, उच्च रक्तचाप, क्यान्सर आदि) न्यूनीकरणका लागि नगरका विभिन्न वडाहरूमा विशेष स्वास्थ्य शिविरहरू सञ्चालन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख खाँणले भन्नुभयो, “नगरबासी स्वस्थ नभएसम्म नगरको विकास सम्भव छैन। त्यसैले ’म स्वस्थ, मेरो नगर स्वस्थ’ अभियानमार्फत हामी गाउँ–गाउँ र विद्यालय तहसम्मै स्वास्थ्य सेवा र सचेतना पु¥याउनेछौँ। निजी विद्यालयहरूलाई पनि यस अभियानमा जोडेर अघि बढाइनेछ ।”

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख खाँणले वालिङको समग्र विकास, आर्थिक समृद्धि, र सुशासनलाई प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँले नगरबासीको स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार विकासमा केन्द्रित हुँदै उत्पादनमुखी कार्यक्रमहरूलाई विशेष जोड दिइने उल्लेख गर्नुभयो।

“हामीले वालिङलाई समृद्ध र नमुना नगर बनाउने संकल्पका साथ व्यावहारिक र कार्यान्वयनयोग्य नीति तथा कार्यक्रम ल्याएका छौँ,“ नगर प्रमुख खाँणले भन्नुभयो, “स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्दै नगरबासीको जीवनस्तर उकास्न यो नीति सहयोगी हुनेछ ।” सभामा उपप्रमुख, वडा अध्यक्षहरू, नगर कार्यपालिका सदस्यहरूको सहभागिता रहेको थियो ।

Google search engine