वालिङ, ३१ जेठ ।
स्याङ्जाको वालिङमा आज सम्पन्न चौथो गण्डकी प्रदेशस्तरीय जिम्नास्टिक प्रतियोगितामा कास्की जिल्ला प्रथम भएको छ । वालिङस्थित जिल्ला सैनिक बोर्डको जिम्नास्टिक प्रशिक्षण केन्द्रमा पुरुष तथा महिलाहरुबीच भएको उक्त प्रतियोगितामा द्वितीय स्याङ्जा जिल्ला भएको छ । तृतीयमा बाग्लुङ जिल्ला रहेको छ । गण्डकी प्रदेश अन्तर्गतका स्याङ्जासहित, कास्की, बाग्लुङ, नवलपुर र पर्वतका महिला पुरुष गरी ३८ जना प्रतिस्पर्धी सहभागी भएका थिए ।
‘फ्लोर इभेन्टस’ र ‘भल्टिङ इभेन्टस’ गरी दुई विधामा खेलाईएको उक्त प्रतियोगितामा ‘फ्लोर इभेन्टस’ स्याङ्जाका सोनिस थापा प्रथम, स्याङ्जाका श्रवण परियार द्वितीय र कास्कीका साइमन थापा तृतीय भएका हुन् ।

त्यस्तै ‘भल्टिङ इभेन्टस’ को पुरुषतर्फ कास्कीका मियोन गुरुङ प्रथम, कास्कीका सार्जन श्रेष्ठ द्वितीय र स्याङ्जाका सोनिस थापा तृतीय भएका वालिङ नगरपालिका जिम्नास्टिक संघका अध्यक्ष ताराप्रसाद श्रेष्ठले बताउनुभयो । महिलातर्फ ‘फ्लोर इभेन्टस’ मा कास्कीकी लीला थापा प्रथम, स्याङ्जाकी जेनिशा गुरुङ द्वितीय र कास्कीकी मोनालिसा कार्की तृतीय भएकी हुन् ।
‘भल्टिङ इभेन्टस’ मा महिलातर्फ कास्कीकी मोनालिसा कार्की प्रथम, स्याङ्जाकी नेशिा गुरुङ द्वितीय, कास्कीकी लीला थापा, स्याङ्जाकी साधवी श्रेष्ठ र कास्कीकी क्रिस्टिना मस्राङ्गी तृतीय भएका उहाँले जानकारी दिनुभयो । महिला तथा पुरुष प्रतिस्पर्धीहरुलाई दुई विधामा गराईएको समग्र प्रतियोगिता अवधिभर सबैभन्दा धेरै पदक कास्कीले जितेकाले कास्की प्रथम भएको हो ।

प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरुलाई आगामी दशौं राष्ट्रिय खेलकुदको छनोटको तयारीकालागि सहभागी गराईने भएको हो । गण्डकी प्रदेश जिम्नास्टिक संघको व्यवस्थापन, वालिङ नगरपालिका जिम्नास्टिक संघको संयोजनमा दुई दिन प्रतियोगिता सञ्चालन भएको हो । वालिङ क्षेत्रमा पछिल्लो समय जिम्नास्टिक खेलमा उत्कृष्ट प्रदर्शन गर्नेक्रम बढ्दै गएको छ । जिम्नास्टिक खेलतर्फ आकर्षित गर्दै यसलाई व्यावसायिकरुपमा अगाडि बढाउनकालागि पनि यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिईएको छ ।
समापन तथा पुरस्कार वितरण कार्यक्रममा ओआईसी पोलिक्लिनिक बुटवलका कर्नेल बलबहादुर रेश्मी, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा, परिषदका सदस्य ईन्द्रा मल्ल, गण्डकी प्रदेश जिम्नास्टिक संघका अध्यक्ष योगेन्द्र गुरुङ, कार्यक्रम संयोजक दीपेन्द्र खाँण, वालिङ नगरपालिका जिम्नास्टिक संघका उपाध्यक्ष घनश्याम पंगेनीलगायतले बिजयी तथा सहभागी खेलाडीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
बिजयी भएका टिमहरुले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।





