वालिङ, ३१ जेठ ।
वालिङ सामुदायिक सिकाई केन्द्र वालिङ ९ को आयोजनामा महिला शसक्तिकरण तथा अभिमुखीकरण तालिम वालिङ २ धौखोलामा सम्पन्न भएको छ । १ दिने अभिमुखीकरण तालिमको उद्दघाटन गर्दै वालिङ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष पोतप्रसाद लम्सालले महिलाहरुलाई आर्थिक तथा सामाजिक रुपमा सशक्त बनाउन यस्ता तालिमहरुले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।

राज्यका हरेक निकायमा महिलाहरुको अर्थपुर्ण सहभागिता रहेको अवस्थामा महिलाहरुको हकअधिकार प्राप्तीका लागि महिलाहरु पनि स्वयं जागरुक हुनुपर्ने बताउनुभयो । कार्यक्रममा केन्द्रका सल्लाहकार भुपराज बगालेले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो । बहुअग्रसर आमा समुह तथा लालीगुराँस आमा समुहका गरी ४४ जना महिलाहरुको सहभागिता रहेको तालिममा रेडियो आँधीखोलाका स्टेशन म्यानेजर तोलाकान्त बगाले, समाचार वाचक आरती कुँवर र आयुष्मा काफ्लेले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम सिकाई केन्द्रका अध्यक्ष चक्रबन्धु रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा स्वागत बहुअग्रसर आमा समुहका कोषध्यक्ष हिमा कुमारी अर्यालले गर्नुभएको थियो ।





