प्रभावकारी बन्दै ‘अल्पकालीन सेवा केन्द्र’

0
19
Google search engine

वालिङ, १३ जेठ ।
हिंसा पीडित महिलाहरुकालागि स्याङ्जामा अल्पकालीन सेवा केन्द्र सञ्चालन गरिएको छ । स्याङ्जा जिल्लाभित्र कुनै पनि हिंसामा परेका महिलाहरुकालागि उद्दार, राहत तथा पुनस्र्थापना गर्ने उद्देश्यसहित अल्पकालीन सेवा केन्द्र स्थापना गरी सञ्चालन गरिएको हो ।
गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जाद्वारा पुतलीबजार नगरपालिकाको संयोजकत्व तथा जिल्लाका एघार वटै स्थानीय तहहरुको सहयोग तथा साझेदारीमा केन्द्र सञ्चालन गरिएको एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले राससलाई जानकारी दिनुभयो ।
सेवा केन्द्रमा लैंगिक हिंसामा परेका महिलाहरु, पारिवारिक झैझमेला, हिंसा तथा बाटोमा वेवारिसे अवस्थामा भेटिएकाहरुलाई परिवार तथा समाजमा पुनःर्मिलन नगराउँदासम्मको अवधिमा केन्द्रमा आश्रय दिएर राख्ने गरिएको उहाँले बताउनुभयो ।
स्याङ्जामा रहेको केन्द्रमा हालसम्म २२ जनाले सेवा लिईसकेका छन् । जसमध्ये १५ जना लैंगिक हिंसा अन्तर्गत बलत्कार एवम् जबरजस्ती करणीमा परेका महिला छन् । त्यस्तै ५ जना पारिवारिक हिंसामा परेका र २ जना बाटोमा बेवारिसे अवस्थामा भेटिएका महिलाहरु रहेका छन् ।
“विशेषगरी हिंसामा परेका पीडित महिलालाई तत्काल राहत र संरक्षणकालागि सेवा केन्द्रको काम प्रभावकारी बन्दै गएको छ, उहाँले भन्नुभयो, “निशुल्क खाना, खाजा, हेरचाह, बसोबास, कानूनी सहायता, मनोपरामर्श सेवाहरु पनि दिने गरिएको छ ।
प्रदेश अस्पताल स्याङ्जामा रहेको एकद्वार संकट व्यवस्थान प्रणालीबाट स्वास्थ्य उपचारसहितका विभिन्न सेवाहरु प्रदान गर्ने गरिएको छ ।
अल्पकालीन सेवा केन्द्रले हिंसामा परेका महिलाहरुलाई संरक्षण गर्ने र संभावित दुर्घटना हुन नदिनकालागि पनि केन्द्रले प्रभावकारी भूमिका खेलेको पुतलीबजार नगरपालिकाका उपप्रमुख एवम् अल्पकालीन सेवा केन्द्रकी संयोजक देवी अर्यालले बताउनुभयो ।
“हिंसामा परेका महिलाहरुलाई तत्काल उद्दार गरी अल्पकालीन केन्द्रमा ल्याएर आश्रय दिनुकासाथै उनीहरुलाई पुनः समाजमा स्थापित गराउँछौं” उहाँले भन्नुभयो, “हिंसामा परेका बेला आत्मबल कमजोर हुन सक्छ, घरमा वा समाजमा बस्न नसक्ने अवस्था आउन सक्छ, त्यतिबेला हामीले यहाँ राखेर मनोपरामर्श दिने, घटनाकाबारेमा बुझेर न्यायकालागि आवश्यक पहल गर्छौं ।”
अल्पकालीन सेवा केन्द्रको काम प्रभावकारी भएतापनि कतिपयलाई यसकाबारेमा जानकारी नहुँदा सेवाको पहुँच पुग्न सकेको छैन ।

Google search engine
Google search engine