वालिङ, ६ बैशाख ।
ओकार इभेन्ट्स हब वालिङद्वारा आयोजित “फस्ट एक्स्पो पर्व”सकिएको छ । नयाँ वर्ष २०८३लाई लक्षित गरी गत चैत्र २६ गते देखि वालिङ खेलमैदानमा आयोजना गरिएको एक्स्पो शनिबार सकिएको हो । एक्स्पो पर्वको समापन गर्दै वालिङ नगरपालिका उपप्रमुख कविता तिवारी गैह्रेले छोटो समयमै यस संस्थाले निकै प्रभावकारी र रचनात्मक कार्यक्रम प्रस्तुत गरेको भन्दै नेपाली नयाँ वर्षलाई पर्वको रुपमा मनाउने कार्यको थालनी गरेको भन्दै यस्ता कार्यक्रमहरूले नगरको आर्थिक र सांस्कृतिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
समापनमा उपप्रमुख गैह्रेले वालिङको पर्यटकीय विकासलाई नयाँ उचाइमा पु¥याउने लक्ष्यका साथ अघि सारिएको ‘गह्रौशुर भ्रमण वर्ष २०८३’ लाई सफल पार्न सम्पूर्ण नगरबासी, व्यवसायी तथा सरोकारवालाहरूलाई एकताबद्ध भएर अघि बढ्न विशेष अपिल गर्नुभयो । भ्रमण वर्षले स्थानीय पर्यटन उद्योगमा नयाँ आयाम थप्ने र नगरलाई पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उद्घाटन समारोहमा वालिङको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल गह्रौशुर मन्दिरलाई “गह्रौशुर भ्रमण वर्ष २०८३” घोषणा गरिएको थियो । वालिङलाई पर्यटकीय हबका रूपमा विकास गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष विजय मल्लले बताउनुभयो ।
सिद्धार्थ राजमार्ग हुँदै यात्रा गर्ने पर्यटकहरू कम्तीमा एक दिन वालिङमा बसोबास गरी यहाँका विभिन्न पर्यटकीय स्थलहरूको अवलोकन गर्ने विश्वास आयोजकले लिएको छ । यसले वालिङको आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
एक्स्पोमा वालिङ तथा स्याङ्जा जिल्लाका पर्यटकीय स्थलहरूको प्रचार–प्रसार, स्थानीय खानाका परिकारहरूको प्रदर्शनी तथा स्थानीय कला–संस्कृतिको संरक्षण र प्रवद्र्धन, स्याङ्जाका प्रमुख पर्यटकीय स्थलहरू सम्बन्धी डकुमेन्ट्री समेत प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा नेपालि काँग्रेस वालिङ नगर सभापति नेत्र प्रसाद पाण्डे, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टी वालिङका अध्यक्ष भक्त गोतामे, वालिङ वडा नं ११ का वडा अध्यक्ष डण्डपानी पंगेनी, वालिङ लगायत को उपस्थिति रहेको थियो। विजय मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सिता पाण्डे डुम्रेले र सञ्चालन प्रबन्धक नवराज पौडेलले गर्नुभएको थियो ।





