वालिङ, २७ असार ।
स्याङ्जाको वालिङ १ त्रियासीमा योग साधना सञ्चालन भएको छ । पतञ्जली योग समिति स्याङ्जा तथा पतञ्जली महिला योग समिति स्याङ्जाको आयोजनामा त्रियासीस्थित दुर्गादेवी मन्दिरको हलमा योग साधना भएको हो ।
प्रत्येक दिन बिहान ५ देखि ७ बजेसम्म दैनिक योग साधना सञ्चालन भईरहेको पतञ्जली योग समिति नेपालका केन्द्रीय सदस्य मैयाँदेवी लम्साल (सरिता) ले जानकारी दिनुभयो ।
वालिङ १ त्रियासी तथा खहरेका स्थानीयहरुको मागका आधारमा योग प्रशिक्षण सञ्चालन गरिएको र अब विस्तारै योग साधना केन्द्रकोरुपमा अगाडि बढाउने तयारी रहेको उहाँले बताउनुभयो ।

योगमा अहिले दैनिक ५५–६० जना महिला तथा पुरुषहरु सहभागी भई योग साधना गरिरहनुभएको छ ।
हिजो गुरु पूर्णिमाको अवसरमा विशेष गुरु बन्दना गरिएको छ । गुरु पूर्णिमाको अवसरमा आयोजना गरिएको कार्यक्रममा पतञ्जली योग समिति नेपालका केन्द्रीय सदस्य मैयाँदेवी लम्साल (सरिता), पतञ्जली योग समिति गण्डकी प्रदेश सदस्य बासुदेव अधिकारी, पतञ्जली महिला योग समिति स्याङ्जाका अध्यक्ष कविता भुसाल, पतञ्जली योग समिति स्याङ्जाका वृक्षारोपण प्रभारी मुना डुम्रे, छाङ्छाङ्दी योग साधना केन्द्रका प्रमुख भेषराज रेग्मी, स्थानीय योग साधक एकनारायण रेग्मी, भूमिनन्द रेग्मीलगायतले गुरुहरुले दिएको ज्ञानलाई दैनिक जीवनमा उपयोग गर्दै सकारात्मक जीवन जीउनतर्फ केन्द्रीत हुनुपर्नेमा जोड दिनुभएको थियो ।
यस्तै गुरु पूर्णिमाको अवसरमा वालिङ ८ स्थित धाराको चौर मन्दिरमा रहेको योग साधना केन्द्रमा पनि गुरु पूर्णिमा विशेष कार्यक्रम गरिएको योग साधना केन्द्रका प्रमुख रामचन्द्र काफ्लेले बताउनुभयो ।





