वालिङ, ९ जेठ ।
गण्डकी प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा जिल्लाका विभिन्न स्थानिय तहका बालबालिकाहरुका बीचमा सिर्जनात्मक लेखन प्रतियोगिता अन्र्तगत शुक्रबार भीरकोट नगरपालिकामा सम्पन्न भएको छ । सामाजिक विकास कार्यालयले विद्यार्थीहरुलाई विभिन्न ३० विद्यामा विदाको समय सदुपयोगका लागि जिल्लाका सबै पालिकाका विद्याथीहरुलाई गृहकार्य दिएको थियो ।
यसैक्रममा शुक्रबार भीरकोट नगरपालिकामा “साइबर अपराध, नागरिक र सुरक्षा निकायको भुमिका” शिर्षकमा भएको प्रतियोगितामा दहथुम माविकी चाहाना केसी प्रथम हुनुभएको छ । यस्तै पिपलडाँडा माविकी मनिषा खाम्चा द्धितिय जनप्रिय माविकी सवनम पराजुली तृतिय राजेन्द्र भवानि मावीकी रमा अर्यालले सान्तवना स्थान हासिल गर्नुभएको छ ।
विरुवा गाउँपालिकाबाट गत वैशाख अन्तिम देखि सुरु भएको प्रतियोगिता आज शुक्रबार भीरकोटमा प्रतियोगिता भएसंगै ६ पालिकामा सम्पन्न भएको हो । अब बाँकी रहेका ५ पालिकामा प्रतियोगिता भएपश्चात यही जेठ २२ गते जिल्लास्तरीय रुपमा प्रतियोगिता गरिने सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले बताउनुभयो । ११ पालिकाका उत्कृष्ट ३ भित्र पर्न सफल विद्यार्थीहरु जिल्लास्तरीय प्रतियोगितामा भाग लिन पाउने उहाँले बताउनुभयो ।
११ वटा स्थानीय तह रहेको जिल्लामा वालिङ, चापाकोट र भीरकोट नगरपालिका तथा विरुवा, अर्जुनचौपारी र हरिनाश गाउँपालिकामा गरी ६ स्थानीय तहमा सिर्जनात्मक लेखन प्रतियोगिता गरिएको हो । सबै स्थानीय तह र जिल्लामा भएका प्रतियोगिताको समन्वय स्थानीय तहले र व्यवस्थापन सामाजिक विकास कार्यालयले गर्दै आएको छ ।






