आठौं वालिङ महोत्सव माघ १८ देखि २८ सम्म खेलमैदानमा हुने

0
34
Google search engine

तोलाकान्त बगाले
वालिङ, २२ पुस ।
‘हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मुलसहित आठौं वालिङ महोत्सव माघ १८ गतेदेखि सुरु हुने भएको छ ।
वालिङ उद्योग वाणिज्य संघ र वालिङ नगरपालिकाको संयुक्त आयोजनामा वालिङ ८ स्थित खेलमैदानमा महोत्सव गर्ने तयारी गरिएको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले आईतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा महोत्सव मुल आयोजक समितिका संयोजक समेत रहनुभएका श्रेष्ठले खैल मैदानको दुवो संरक्षण गर्दै महोत्सव गरिने र आगामी दिनहरुमा पनि दुवो संरक्षणमा संघले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । वालिङ महोत्सवलाई समग्रमा स्याङ्जा जिल्लाकै साझा महोत्सवकारुपमा विकास गर्ने गरी अगाडि बढेको उहाँले बताउनुभयो । महोत्सवका माध्यमबाट यहाँको ब्यापार ब्यावसायको प्रचार प्रसार तथा पूँजी चलायमान बनाउन उपयोगी हुने दावी अध्यक्ष श्रेष्ठको छ ।

Google search engine

कार्यक्रममा महोत्सवका निर्देशक शोभाकान्त पौडेलले वालिङ महोत्सव यहाँको ब्राण्ड भएकाले वालिङको ब्राण्डलाई थप उचाईमा लैजाने यो आठौँ महोत्सवले सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । वालिङ महोत्सवको व्यवस्थापकीय, प्रर्वद्धनात्मकलगायतका विषयमा धेरै ठाउँमा चर्चा हुने गरेको भन्दै महोत्सवले गाउँगाउँमा उत्पादन भएका उत्पादनहरुलाई बजारीकरण गर्न सहयोग पुगेको पौडेलको भनाई छ ।
कार्यक्रममा आठौँ वालिङ महोत्सवका सल्लाहकार समिति संयोजक दिलीपप्रताप खाँंणले वालिङ खेलमैदान सार्वजनिक मैदान भएको भन्दै महोत्सव नगर्नकालागि खेलकुद परिषदले पठाएको पत्रको कुनै तुक नभएको बताउनभुयो ।
वालिङ महोत्सवकाकारण गाउँ गाउँका मानिसहरु बजार आउने र ब्यापार ब्यवसाय थप वृद्धि हुने भएकाले बरु ब्यापारी ब्यवसायीहरुले अवसरकोरुपमा लिनुपर्ने उहाँले बताउनुभयो । बाहिरबाट आउने ब्यापारी ब्यवसायीलाईभन्दा वालिङका स्थानीय ब्यापारी ब्यवसायीलाई सस्तो र विशेष छुटमा ब्यापार ब्यवसाय गर्ने वातावरण आयोजकले मिलाउनुपर्नेमा जोड दिनुभयो ।

पत्रकार सम्मेलनमा वालिङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं अनुगमन समिति संयोजक पुण्यप्रसाद अर्यालले खेलमैदानमा लगाईएको दुवोको माया र महत्व वालिङ उद्योग वाणिज्य संघलाई पनि भएको भन्दै दुवोलाई नमास्ने गरी खेलमैदानको वरपर रहेका जग्गाहरुमा बालउद्यान तथा अन्य संचरनाहरु निर्माण गर्ने बताउनुभयो । दुुवो संरक्षणकालागि वाणिज्य संघ पनि उत्तिकै जिम्मेवार रहेको उहाँले बताउनुभयो ।
नवौं राष्ट्रिय महिला फुटबल प्रतियोगिता सम्पन्न गरिएको खेलमैदानमा लाखौँ खर्च गरेर दुवो विछ्याईएको भन्दै खेलमैदानभन्दा अन्यत्र महोत्सव गर्नुपर्ने आवाज उठिरहेको थियो ।

दुवोको संरक्षणकालागि संघले महोत्सवबाट हुने बचतको ५ प्रतिशत रकम छुट्याउने भएको छ । महोत्सवको आकर्षणकारुपमा डान्स आईडल सिजन ३, भजन प्रतियोगिता, रत्यौली गीत प्रतियोगिता रहेका छन् ।
महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र व्यापारिक गरी २५० स्टलहरु रहनेछन् । जसमा ५० प्रतिशत स्टल बुकिङ भैसकेको आयोजकले जनाएको छ । वालिङ तथा आसपासको पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले जिल्ला भित्र रहेका पर्यटकीय स्थलहरुको जानकारी सहितको फोटो प्रदर्शनी, होमस्टेमा आवासको व्यवस्था समेत गरिनेछ । महोत्सवको संरक्षक संस्थाको रुपमा नेपाल उद्योग वाणिज्य महासंघ र प्रवद्र्धककोरुपमा नेपाल पर्यटन बोर्ड रहको छ भने आयोजक वालिङ उद्योग वाणिज्य संघ र वालिङ नगरपालिका रहेको छ ।
महोत्सवमा विभिन्न जातजातिहरुको भेषभुषा, कला संस्कृति समावेश गरिनेछ भने प्रतियोगितात्मक कृषि उपजको प्रदर्शनी रहनेछ । महोत्सवमा विद्यार्थीकालागि ७० र अन्यका लागि एकसय रुपैयाँ टिकट दर निर्धारण गरिएको छ । महोत्सवमा यहाँका स्थानीय व्यापारीले स्टल राख्न चाहेमा ३० प्रतिशत छुट समेतको व्यवस्था गरिएको छ । महोत्सवमा ३ लाख दर्शकले अवलोकन गर्नेछन् भने महोत्सव अवधिभर १० करोड भन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।
महोत्सवबाट एक करोड २६ लाख आम्दानी गरी ७९ लाख ५१ हजार खर्च गरी ५६ लाख ४८ हजार बचत गर्ने आयोजकको लक्ष्य छ । पत्रकार सम्मेलनमा जिल्लास्थित विभिन्न सञ्चार संघ संस्थामा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रम संघका अध्यक्ष चेतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत वरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगाना तिवारी, धन्यवाद उपाध्यक्ष खगेन्द्रप्रसाद अर्यालले र सञ्चालन महासचिव रमेश अर्यालले गर्नुभएको थियो ।

Google search engine