वालिङ, १३ माघ ।
वालिङ उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन हुने वालिङ महोत्सव केवल मेला र पर्वमा मात्र सीमित नभई यस क्षेत्रको गौरव र पहिचानको आधार बनेको महोत्सव निर्देशक शोभाकान्त पौडेलले बताउनुभएको छ । नवौँ वालिङ महोत्सवको तयारीका सन्दर्भमा कुराकानी गर्दै निर्देशक पौडेलले यसलाई वालिङको विशिष्ट ’ब्राण्ड’ का रूपमा स्थापित गर्न आफूहरूले विशेष कार्ययोजना अगाडि सारेको स्पष्ट पार्नुभयो । उहाँका अनुसार महोत्सवले वालिङको आर्थिक, सामाजिक र सांस्कृतिक छविलाई राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत चिनाउने लक्ष्य राखेको छ ।
निर्देशक पौडेलले स्थानीय उत्पादनको बजारीकरण र व्यावसायिक प्रवद्र्धनलाई महोत्सवको मुख्य कडीका रूपमा व्याख्या गर्नुभयो । उहाँले स्याङ्जाको सुन्तला, कफी र अदुवा जस्ता मौलिक उत्पादनहरूलाई महोत्सवमार्फत सिधै उपभोक्ता र ठूला व्यापारीसम्म जोड्ने प्रयास भइरहेको जानकारी दिनुभयो। स्थानीय स्रोत र साधनको अधिकतम परिचालन गर्दै वालिङलाई व्यापारिक केन्द्रको रूपमा विकास गर्न महोत्सवले सेतुको काम गर्ने उहाँको तर्क छ। महोत्सवले एकातिर उद्यमीहरूलाई प्रोत्साहित गर्नेछ भने अर्कोतिर उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा एकै थलोमा उपलब्ध गराउने विश्वास उहाँले व्यक्त गर्नुभयो।
पर्यटन प्रवद्र्धनका सम्बन्धमा बोल्दै पौडेलले वालिङ आसपासका पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसारलाई यस पटक प्राथमिकतामा राखिएको बताउनुभयो। महोत्सवलाई सफल बनाउन सम्पूर्ण नगरवासी, व्यवसायी र सरोकारवालाहरूको साझा भूमिका रहने बताउँदै उहाँले यसलाई वालिङकै साझा उत्सवको रूपमा मनाउन आह्वान समेत गर्नुभएको छ ।





