शिक्षक महासंघद्धारा सरकारको ध्यानार्कषण

0
194
Google search engine

वालिङ, १४ भाद्र ।
नेपाल शिक्षक महासंघले आफ्ना मागहरु यथोचित समावेश गरी कार्यान्वयनमा ल्याउन दबाव सृजना गरेको छ । दबाबमुलक कार्यक्रम स्वरुप शुक्रबार महासंघले देशभरका ७५३ पालिकाहरुमार्फत सरकारलाई ध्यानार्कषण पत्र बुझाएको हो । यता स्याङ्जाका ११ वटै पालिकामा शिक्षा साखामार्फत ध्यानार्कषण पत्र बुझाउने र पालिका परिसरमा २ घण्टा धर्ना दिने कार्यक्रम गरेको छ ।
आर्थिक वर्ष २०८१÷०८२ को चैत्रमा गरिएको २९ दिने आन्दोलनमा भएका सहमतिहरु कार्यान्वयनको लागी सरकारलाई दबाब सृजना गर्न राष्ट्रव्यापी कार्यक्रम अन्र्तगत नै शुक्रबार वालिङ नगरपालिकामा धर्ना सहित ध्यानर्कषण पत्र बुझाईएको नेपाल शिक्षक संघका केन्द्रिय उपाध्यक्ष लक्ष्मीप्रसाद रेग्मीले बताउनुभयो ।
सरकारले प्रतिनिधि सभामा पेश गरेको विद्यालय शिक्षा विधयेकमा नेपाल शिक्षक महासंघसंग भएका २१, ३१ र ६ बुँदे मागहरु समावेश नगरिएको भन्दै महासंघले देशव्यापी कार्यक्रम गरेको हो । महासंघले शिक्षकहरुलाई धोका दिने काम सरकारले गरेको भन्दै सहमति अनुसारका मागहरु सम्बोधन नभए फेरि दोस्रो चरणको आन्दोलनमा कडा खालका कार्यक्रमहरु लिएर उत्रने चेतावनी दिएको छ ।
अस्थायी प्रकृतिका शिक्षकको स्थायीत्वका लागि तोकिएको आन्तरिक परिक्षाको प्रतिशत सहमति ७५ प्रतिशत आन्तरिक अनुसार नहुँनु, गोल्डेन हेन्डसेक अन्र्तगत दिईने रकम कति भनि किटान नहुँनु, स्थायी शिक्षकको बढुवाको प्रबन्ध नहुँनु, निवृत्तीभरण प्रयोजनका लागी सम्पुर्ण अस्थायी अवधिको गणना नहुँनु, म्याद सकिएका अध्यापन अनुमती पत्रको म्याद थप्ने कुरा नसमेटिनु,शिक्षकको विभागीय कारबाही व्यवस्था सहमति अनुसार नगरिनु, विद्यालय कर्मचारीको पद र वेतन सुनिश्चित नहुनु, बालकक्षा शिक्षकको पद र सेवा सुुविधा सुनिश्चित नहुँनु, संस्थागत विद्यालयका शिक्षकको सेव सुविधा र पेशागत सुरक्षाको प्रबन्ध नगरिनुलगायतका मागहरु विद्यालय शिक्षा विधयेकमा सम्बोधन नगरिएको महासंघको भनाई छ ।
ध्यानार्कषण पत्र बुझाउने कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रिय उपाध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य वाईबि कुँवर, नेपाल शिक्षक संघका नगर सभापति हिमलाल पंगेनी, नेपाल शिक्ष्क संगठनका नगर अध्यक्ष चिरञ्जीवी अर्याललगायत शिक्षकहरुको सहभागिता रहेको थियो । यसैबीच उद्योग वाणिज्य संघ वालिङले पनि नेपाल शिक्षक महासंघको माग प्रति ऐक्यवद्धता जनाउँदै ज्ञापन पत्र सार्वजानिक गरेको थियो ।

Google search engine
Google search engine