धार्मिक र पर्यटकीय महत्वसित गाँसिएको लंकाकोट ओझेलमा

0
385
Google search engine

आरती कुँवर
वालिङ, २ बैशाख ।

Google search engine

ग्रामीण पर्यटनको प्रचुर सम्भावना बोकेको लंकाकोट होमस्टे तथा पर्यटकीय स्थल प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । स्याङ्जाको वालिङ १४ मा अवस्थित लंकाकोट होमस्टे तथा पर्यटकीय स्थलको प्रचार प्रसार नहुँदा ओझेलमा परेको हो । वि.सं. २०७६ साल माघमा लंकाकोट होमस्टेकारुपमा दर्ता भएको थियो । लंकाकोट होमस्टे, पर्यटकीय स्थलसँगै पदमार्ग एवं धार्मिक महत्वका दृष्टिले पनि प्रचुर सम्भावना रहेको छ ।
लंकाकोटमा धार्मिक महत्वका कालिका मन्दिर तथा चण्डी थान, बुढो बराजु रहेका छन् । बडादशैं, चैतेदशैं, मंसिर पूर्णिमा तथा बुद्धजयन्तीमा विशेष पूजा गरिने उक्त मन्दिर तथा थानमा मनले इच्छाएको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने जनकथन रहेको लंकाकोट होमस्टेका अध्यक्ष अमर थापा बताउनुहुन्छ । त्यहाँबाट स्याङजा, पाल्पा र पर्वत जिल्लाका विभिन्न ठाउँहरुको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

तत्कालीन बाइसे÷चौबिसे राज्य अन्तर्गत लंकाकोटमा खड्का राजाले राज्य सञ्चालन गरेका थिए । उक्त स्थानमा राजाकै पालामा हात्ती बाँध्नकालागि प्रयोग गरिएको ढुङ्गा अझैसम्म पनि रहेको छ । उक्त हात्ती बाँध्ने ढुङ्गामा ढाँडमा समस्या भएका बिरामी पसेमा निको हुने दावी होमस्टेका अध्यक्ष थापाको छ ।
आज भन्दा चार÷पाँच सयवर्ष पहिलेको समयमा गह्रौंसुरका राजाले खड्का राजालाई आक्रमण गर्ने योजना बनाएको थाहा पाएपश्चात फौदीखोलामा रहेको लुक्कुवा खेतमा लुक्न जाँदा आक्रमण गरेको भन्ने सुनेको थापाले बताउनुभयो । राजा मरेको खबर पाएपछि रानी पनि कुवामा पसी आफ्नो प्राण त्याग गरेकी थिइन् । रानीले प्राण त्याग गर्नुपूर्व त्यस ठाउँलाई सराप दिएको भन्ने सुनेका थियौं । ‘उहाँले भन्नुभयो’ “रानीले यस ठाउँमा उब्जनी राम्रो होस् तर खान नपुगोस् भनेर सराप दिएका कारण उब्जनी जति भएपनि हामीलाई खान पुग्दैन ।” लंकाकोटमा जनजाति तथा दलित समुदायको बस्ती रहेको छ । जस अन्तर्गत ३८ घरधुरी संख्या रहेको मध्ये अहिले २४ घरधुरी मात्रै छन् ।

“गर्मीको समयमा शितल हावा आउँछ अनि जाडोको समयमा जमिनबाटै तातो हावा आउँछ, यो पनि यहाँको अर्को विशेषता हो” उहाँले भन्नुभयो, “यहाँबाट देखिने दृश्य अवलोकनकालागि एकपटक आउनै पर्ने पर्यटकीय गन्तव्य भएर पनि प्रचार प्रसार नहुँदा हाम्रो ठाउँ ओझेलमा परेको छ ।”
हाल यहाँ पुग्नकालागि ग्रामीण कच्ची सडक छ । कच्ची सडक पुगेतापनि यसको स्तरोन्नति हुन नसक्दा वर्षाकासमयमा समस्या हुने गरेको छ ।
पञ्चवर्षीय योजना अन्तर्गत ५० लाख बजेट विनियोजन भएको र पहिलो वर्षमा १० लाखको काम सकिएको छ । १० लाख अहिले टेण्डर प्रक्रियामा रहेको वडा नं १४ का वडा अध्यक्ष बोधराज कुँवर राजुले बताउनुभयो । घेराबारकालागि तार जाली लगाएको, मन्दिरदेखि हात्ती बाँध्ने ढुङ्गासम्म जानकालागि ढुंगा टाँसेर पदमार्ग निर्माण गरिएको, सार्वजनिक शौचालय निर्माण गरिएको वडा अध्यक्ष कुँवरले बताउनुभयो ।
बाँयटारी बजारबाट ३ किलोमिटर कच्ची सडक लंकाकोट पुग्न सकिन्छ भने वडा नं १४ वडा कार्यालय रहेको स्थान तिवारीपसलबाट डेढ किलोमिटर पैदलयात्रा गरी लंकाकोट होमस्टे पुग्न सकिन्छ ।
युवायुवतीहरु गाउँमा नबस्ने हुँदा दक्ष जनशक्ति साथै आर्थिक अभावकाकारण होमस्टेलाई पूर्णरुपमा गति दिन नसकिएको होमस्टेका अध्यक्ष थापाले दुखेसो गर्नुभयो । लंकाकोटलाई धार्मिक एवं पर्यटकीय गन्तब्यकारुपमा विकास गर्नु जरुरी रहेको छ । धार्मिक, पर्यटकीय स्थलकारुपमा लंकाकोटलाई विकास गरी यहाँका संभावनाहरुको प्रचार प्रसार गर्न सकेमात्रै यसको पहिचान र महत्व थप उचाईमा पुग्ने विश्वास अध्यक्ष थापाको छ ।

Google search engine