तोलाकान्त बगाले
वालिङ ५ पुस
स्याङ्जाको भीरकोट नगरपालिका १ भलुवाडाँडाका डोलनारायण श्रेष्ठले सडकमा सुन्तला ब्यापार गर्न थाल्नुभएको १२ वर्ष पुग्यो । उमेरले ८१ वर्ष हुनुभएका श्रेष्ठले आफ्नै बगैंचामा उत्पादन भएको सुन्तला घर नजिकैको सिद्धार्थ राजमार्ग किनारबाट बिक्री गरी वर्षेनी मनग्य आम्दानी गर्दै आउनुभएको छ । घरका सदस्यले डोकोमा सुन्तला बोकेर बाटोमा झारिदिएपछि उहाँ पनि सँगै आएर सुन्तला बिक्रीकालागि बाटोमा बस्नुहुन्छ ।
साना ठुला सुन्तलाको आँफै हातले ग्रेडिङ गरेर छुट्टाछुट्टै डोकोमा राख्नुहुन्छ । जसको मुल्य पनि फरक फरक कायम गर्नुहुन्छ । आफ्नै घरमा उत्पादन भएको सुन्तलाको बजारीकरणकालागि बोकेर टाढा लैजानभन्दा सडक किनारबाटै पनि ब्यापार गर्न सकिन्छ भन्ने लागेर उहाँले १२ वर्ष पहिलेदेखि सुरु गर्नुभयो । बाटोमा सडकको ब्यापार राम्रो हुन थालेसँगै अहिले स्याङ्जा जिल्लाभित्र पर्ने सिद्धार्थ राजमार्गका विभिन्न ठाउँहरुमा सुन्तलामात्रै बिक्री गर्नेहरुको लर्को देखिन्छ ।
“१२ वर्षअघि मैंले संभावना देखें र डोकोमा राखेर बाटोबाटै सुन्तला बिक्री गरें” उहाँले भन्नुभयो, “स्याङ्जामा यसरी बाटोमा बसेरै सुन्तला बिक्री थाल्ने म पहिलो हुँ, अहिले त बाटो भरी सुन्तला बिक्री गर्नेहरु छन् ।”
उहाँले सडक छेउमा बसेर दैनिक दुई हजारदेखि पन्ध्र हजारसम्म दैनिक आम्दानी गर्दै आएको बताउनुहुन्छ । सिद्धार्थ राजमार्ग भएर हिंड्ने यात्रुहरुले कोसेलीकारुपमा लैजाने गरेकाले पनि राम्रो बिक्री हुने गरेको हो ।
“यतै वरिपरीका चिनेकाले घरमै आएर पनि लैजानुहुन्छ” उहाँले भन्नुभयो, “टाढा टाढाबाट आएका यात्रुहरुले कोसेलीकोरुपमा सुन्तला किनेर लैजाने गरेका छन् ।”
उहाँको अहिले १३ रोपनी क्षेत्रफलमा सुन्तला बगैंचा फैलिएको छ । गतवर्ष सुन्तला बिक्रीबाट रु. सात लाख आम्दानी गर्नुभएको थियो । गतवर्षको तुलनामा सुन्तला यसवर्ष कम फलेकाले आम्दानी पनि तुलनात्मकरुपमा कम हुने उहाँ बताउनुहुन्छ ।
स्याङ्जाको पुतलीबजार नगरपालिका १० बर्जास्थित सिद्धार्थ राजमार्गको सडक किनारमा घाम ताप्दै सुन्तला ब्यापार गर्ने किसानहरु हुनुहुन्छ । तीन जना महिलाहरुले आफ्नै बगैंचामा उत्पादन भएको सुन्तला आँफैले बिक्री गर्दै आउनुभएको हो । बगैंचामा उत्पादन भएको केही सुन्तला ठेक्का लगाएको र बाँकी रहेको सुन्तला आँफैले बिक्री गर्ने गरी सडकमा झरेको प्रेमकुमारी रानाले बताउनुभयो ।
“डोकोमा सुन्तला ल्याएर बाटोमा बसेर बिक्री गर्दा आम्दानी पनि राम्रै भएको छ” उहाँले भन्नुभयो, “अहिले प्रतिकेजी एकसयमा बिक्री गर्दै आएका छौं, बाटोमा आउने कतिपयले किसानको मर्का राम्रोसँग बुझ्दा रहेनछन्, नबिकेर यहाँ ल्याएका हुन् त्यस्सै पाईन्छ जस्तो ब्यवहार गर्दा मन दुख्दोरहेछ ।”
“अघिल्लो वर्ष पनि प्रतिकेजी सय नै थियो अहिले पनि त्यही हो, किसानले उत्पादन गरेको वस्तुले मुल्य राम्रो पाउँदै पाउँदैन” अर्की सुन्तला ब्यवसायी माया रानाले थप्नुभयो । उहाँहरुले सुन्तला बिक्रीबाट दैनिक चार÷पाँच हजार आम्दानी गर्दै आउनुभएको छ । अहिले प्रतिकेजी रु. एकसयमा बिक्री भएको सुन्तला माघ, फागुनसम्म पुग्दा प्रतिकेजी दुई सयसम्म पुग्छ । कात्तिकदेखि फागुनसम्म सडकमा सुन्तला बिक्री हुने गरेको छ । सडक किनारमा सुन्तला उत्पादन हुने सिजनमामात्रै सुन्तला बिक्री गर्नकालागि बस्ने किसान÷ब्यवसायीहरु बढेका छन् । स्याङ्जा जिल्लामा उत्पादन भएकोमध्ये करिव १० प्रतिशत सुन्तला सडक किनारबाटै बिक्री हुने गरेको कृषि ज्ञानकेन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले बताउनुभयो ।
सुनौली पोखरा जोड्ने सिद्धार्थ राजमार्गको स्याङ्जा सडक खण्डमा यतिबेला सुन्तला बिक्री गर्नेहरुको लर्को देखिन्छ ।
विशेष गरी पुतलीबजार, भीरकोट, फेदीखोला र वालिङ नगरपालिका अन्तर्गत पर्ने सिद्धार्थ राजमार्गका दायाँ बायाँ सडक छेउमा ब्यवसायीहरुलाई सुन्तला बिक्री गर्न भ्याई नभ्याई छ । स्याङ्जाका विभिन्न बजारहरुमा सुन्तला बिक्री त हुन्छन् नै तर पछिल्लो समय बजारमामात्रै नभई सडक किनारमा पनि ब्यवसायीले सुन्तला बिक्री गर्न थालेका हुन् । आफ्नै बगैंचामा उत्पादन भएका र आफ्नोमा उत्पादन नहुनेहरुले अन्यत्रबाट खरिद गरेर भएपनि सडक छेउछाउमा डोको, नाङ्लोमा सुन्तला बिक्री गर्नेहरु बढ्दै गएका छन् ।