स्याङ्जामा ‘लम्पी स्किन’ को सङ्क्रमण बढ्यो

0
131
Google search engine

तोलाकान्त बगाले
वालिङ ।
स्याङ्जामा पछिल्लो समय पशु चौपायाहरुमा लम्पी स्किन रोगको सङ्क्रमण बढेको छ । एघार वटा स्थानीय तह रहेको स्याङ्जाका सबै पालिकाहरुमा यो रोगका लक्षणहरु देखिएको हो । जिल्लाका विभिन्न ठाउँबाट विरामी पशुको रगतको नमूना सङ्कलन गरी पशु रोग अन्वेषण प्रयोगशाला पोखरा लगेर परीक्षण गर्दा लम्पी स्किन पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम कोईरालाले बताउनुभयो । गत सातासम्म दुई सय ७५ पशुमा रोग पुष्टि भएपनि एक साताको अवधिमा थपिंदै गएको छ । यो रोग सबैभन्दा बढी गाईमा देखिएको छ । गाई एक सय ६०, गोरु ९२, बाच्छाबाच्छी १६ र भैंसी ७ वटा विरामी भएका छन् । जसमध्ये गाई ७ वटा, बाच्छाबाच्छी २ वटा, गोरु र भैंसी १÷१ वटा मरिसकेका छन् । “यो रोग एक प्रकारको पक्स समूहको काप्रीपक्स भाइरसबाट गाईभैंसीमा लाग्ने रोग हो” उहाँले भन्नुभयो, “यो रोग भैंसीभन्दा पनि बढी गाई गोरुहरुमा लाग्ने गर्दछ ।”
लम्पी स्किन रोग लागेका पशुहरुमा कचेरा निकाल्ने, सिंगान बग्ने तथा फिंज निकाल्ने, शरीरका विभिन्न भागहरु विशेष गरी घाँटी, पछाडिको खुट्टा, पेट, कल्चौडामा गिर्खाहरु देखिन्छ । पशुहरुमा १०४ फरेनहाइटभन्दा माथि उच्च ज्वरो आउने, दूध उत्पादन घट्ने, गर्भ तुहिने तथा बाँझोपना हुने लक्षणहरु लम्पी स्किनका हुन् । “यो रोग लामखुट्टे, झिंगा, किर्नाको टोकाईबाट पनि एकबाट अर्कोमा सर्न सक्छ” उहाँले भन्नुभयो, “सङ्क्रमित गाईभैंसीको ओसारपसार, लसपस तथा सङ्क्रमित गाईभैंसी र स्वस्थ गाईभैंसीलाई उपचारकोक्रममा एउटै सुईको प्रयोगबाट पनि सर्न सक्ने भएकाले विशेष सावधानी अपानाउनु पर्छ ।”
यो रोगको ठोस उपचार नभएकाले खोपलाई नै विकल्पकोरुपमा प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो । विरामी पशुलाई अरु पशुबाट अलग्गै राख्ने, गोठ र मलखादबीचको दूरी बढाउनुपर्ने, भुसुना, किर्ना, डाँक, लामखुट्टे लगायतका परजीविहरुको नियन्त्रण गर्नुपर्ने, गोठ वरीपरीको वातावरण सरसफाईमा ध्यान दिनुपर्ने, काँचो छाला तथा सङ्क्रमित पशुको ओसारपसारमा रोक लगाउनुपर्ने उहाँले बताउनुभयो ।
पशुहरु सङ्क्रमित हुने दर बढेपनि यसको मृत्युदर भने कम रहेको छ । पशुहरुमा सङ्क्रमदर बढ्न थालेपछि अहिले जिल्लाका वालिङ, भीरकोट नगरपालिका तथा आँधीखोला गाउँपालिकाले खोप खरिद गरी लगाउन थालेको उहाँले बताउनुभयो । वालिङ नगरपालिकामा एकसय ५० भन्दा बढी पशुहरुमा यो रोग देखा परेको वालिङ नगरपालिकाका पशु सेवा शाखा प्रमुख लेखनाथ अर्यालले बताउनुभयो ।
विशेष गरी गाई र गोरु सङ्क्रमित भएपछि नगरपालिकाले रोकथाम तथा नियन्त्रणकालागि खोप खरिद गरी लगाईरहेको उहाँले बताउनुभयो ।
“गाईभैंसीमा लम्पी स्किन रोगको लक्षण पुष्टि भएपछि अन्य पशुहरुमा सर्न नदिन नगरपालिकाले पहिलो चरणमा पन्ध्र सय खोप खरिद गरी लगाईरहेका छौं” उहाँले भन्नुभयो, “खोप करिव करिव सकिन थालेको छ अब थप एक हजार खोप ल्याउने तयारीमा छौं ।” ब्यवसायिक फर्म तथा घर–घरमा पालिएका सङ्क्रमित नभईसकेका पशुहरुमा निरन्तर खोप लगाईएको छ । नगरपालिकाले यो रोगको रोकथाम तथा नियन्त्रण गर्न स्थानीय रेडियो तथा पत्रपत्रिका, सामाजिक सञ्जालहरुको प्रयोग गरी जनचेतनामूलक सन्देशहरु प्रशारण तथा प्रकाशन गरेको छ ।

Google search engine
Google search engine